दफा २७१
भोगाधिकारवालाको अधिकार

(१) कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई भोगाधिकारको हैसियतले देहायको अधिकार प्राप्त हुनेछः–
(क) आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानून वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए त्यस्तो करारको अधीनमा रही निर्वाध रूपमा भोग गर्न,
(ख) आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ उपभोग गर्न ।
(२) कसैले आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोग गरेमा त्यस्तो सम्पत्तिमा पछि निजको भोगाधिकार नरहने भए तापनि निजले त्यस्तो सम्पत्तिमा भोगाधिकार रहेको अवधिमा सम्बन्धित स्वामित्ववालाको सहमति लिई त्यस्तो सम्पत्तिकोव्यवस्थापन, मर्मत सम्भार वा रेखदेख गर्दा लागेको अत्यावश्यक खर्च त्यस्तो सम्पत्तिको स्वामित्ववालासँग सोधभर्ना गरी लिन पाउनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमकोखर्च सोधभर्ना नभएसम्म साविकको भोगाधिकारवालाले त्यस्तो सम्पत्ति आफैँसँग राख्न पाउनेछ ।
(४) आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोगाधिकार गर्दा कुनै व्यक्तिले त्यस्तो सम्पत्तिमा कुनै वस्तु जडान गरेको भए त्यस्तो सम्पत्ति नबिग्रने गरी आफ्नो जडान गरेको वस्तु उप्काउन वा झिक्न सक्नेछ ।